काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शिक्षकहरूलाई संघ–संस्था खोल्न नपाउने प्रावधानसमेत विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बिहानको बैठकमा बोल्दै उनले शिक्षकहरूलाई केवल राजनीतिमा मात्र संलग्न हुन रोक्ने व्यवस्था पर्याप्त नहुने टिप्पणी गरे।
उनले भने, “प्राध्यापकलाई राजनीति नगर्ने, पेशागत संघ–संस्थामा आवद्ध नहुने, विद्यालयमै केन्द्रित रहने भनिएको छ। तर यससँगै उनीहरूले अर्को संगठन खोल्न नपाउने कुरा पनि प्रष्ट लेखिनुपर्छ। होइन भने, संघ–संस्थामा आबद्ध हुने अनुमति नै दिनुपर्छ।”
सांसद भण्डारीले शिक्षक सरुवासम्बन्धी प्रावधानमा पनि स्पष्टता आवश्यक रहेको औंल्याउँदै खाली पदस्थापन भएका ठाउँमा शिक्षक जान पाउने व्यवस्था विधेयकमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए। “जिल्ला, प्रदेश र गाउँका शिक्षकहरूले खाली भएको ठाउँमा जान पाइयोस् भन्ने माग गरेका छन्। यसलाई बुझिने गरी विधेयकमा राख्नुपर्छ,” उनले स्पष्ट पारे।
त्यस्तै उनले पाठ्यक्रममा प्रविधिको प्रभावकारी प्रयोग अनिवार्य बनाउनु पर्नेमा बल दिँदै भने, “विश्वव्यापीकरणसँगै नयाँ प्रविधि तीव्र गतिमा विकसित भइरहेको छ। त्यसलाई महशुस गर्दै हाम्रो पाठ्यक्रममा प्रविधि सम्बन्धी आवश्यक प्रावधान समावेश गर्नैपर्छ।”
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया