काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनका सिपाहीदेखि हवलदारसम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ भनेर हेप्न नहुने स्पष्ट निर्देश दिएका छन्।
नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन गर्दै उनले भने, “संगठनको आधारभूत शक्ति नै त्यही दर्जामा उभिएको छ। त्यसैले तल्लो दर्जा भन्ने होइन, आधारभूत दर्जा भन्नुपर्छ।”
उनका अनुसार छलफलमा रहेको प्रहरी विधेयकमा समेत ‘आधारभूत दर्जा’ भन्ने शब्दावली प्रयोग गर्ने र त्यस्ता प्रहरीलाई १६ वर्ष सेवापछि नै निवृत्तिभरण पाउने व्यवस्था कानुनमार्फत ल्याइनेछ। “राज्यव्यवस्था समितिको बैठक बस्न नसक्दा विधेयक अघि बढ्न सकेको छैन, तर पारित भएपछि १६ वर्षमै पेन्सनको व्यवस्था हुनेछ,” मन्त्री लेखकले बताए।
लेखकले प्रहरी संगठनलाई अन्य निकायसँग तुलना गर्दै निजामती कर्मचारीले कुर्सी–टेबलमा बसेर काम गर्ने भए पनि प्रहरी जवानहरू १४ घण्टासम्म उभिएर जिम्मेवारी निर्वाह गर्ने बताउँदै उनीहरूलाई ‘आधारभूत दर्जा’ मान्नुपर्नेमा जोड दिए।
सम्मेलनको प्रसङ्गमा उनले ७४ वर्षपछि महिला प्रहरीको सङ्गठित सम्मेलन ऐतिहासिक प्रारम्भ भएको उल्लेख गर्दै प्रहरी प्रमुख (आईजीपी) दीपक थापालाई धन्यवाद दिए।
हाल संगठनमा १२ प्रतिशत महिला प्रहरी रहेको जानकारी दिँदै गृहमन्त्री लेखकले दोस्रो जनआन्दोलनपछि महिलाको उपस्थिति उल्लेख्य रूपमा बढेको बताए। “समावेशी राज्य निर्माण गर्ने हाम्रो अठोटलाई महिला प्रहरीको संख्यावृद्धिले पुष्टि गरेको छ,” उनले भने।
महिला प्रहरीको क्षमता अभिवृद्धिमा जोड दिँदै मन्त्री लेखकले समानता, सशक्तीकरण र सम्भावनाको खोजी गर्दै महिलालाई सबै क्षेत्रमा समाहित गर्नुपर्नेमा बल दिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया