काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले विद्यालयका प्रधानाध्यापकलाई उच्च तहका राष्ट्रसेवक कर्मचारी सरह सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग गरेकी छन्।
सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक–२०८० मा प्रधानाध्यापकको सेवा-सुविधाबारे स्पष्ट प्रावधान राखिनुपर्ने धारणा राखिन्।
“प्रधानाध्यापकको विषय प्रदेशलाई जिम्मा दिनु सकारात्मक छ। प्रदेशबाट छनोट, शिक्षक सेवा आयोगमार्फत परीक्षा र स्थानीय तहमार्फत नियुक्ति ठीक हो। तर विधेयकमा उनीहरूको सेवा-सुविधा प्रस्ट उल्लेख हुनैपर्छ,” सांसद शर्माले भनिन्।
उनले प्रधानाध्यापकलाई नेपाल सरकारका सबैभन्दा माथिल्लो तहका राष्ट्रसेवक कर्मचारीले पाउने सुविधा बराबर दिनुपर्नेमा जोड दिँदै, “तोकेबमोजिम भन्ने सामान्य शब्दले मात्र उद्देश्य पूरा हुँदैन। निश्चित स्तरको सुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ,” भनिन्।
यस्तै, शर्माले प्रधानाध्यापकलाई शिक्षक महासंघमा आवद्ध हुन नदिने प्रावधानलाई सकारात्मक कदम भएको टिप्पणीसमेत गरिन्।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया