काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले शिक्षालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै समाजवादमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले देश र संविधान समाजवादउन्मुख रहेकाले शिक्षा प्रणाली पनि त्यही आधारमा अघि बढाउनुपर्ने धारणा राखे।
“पूर्ण छात्रवृत्ति, गरिब जेहन्दार तथा अति पिछडिएका वर्गका लागि गरिएको व्यवस्था गैरनाफामुखी रूपमा निरन्तर रहनुपर्छ। तर कानुन पुरानै सोचाइले बनेमा समाजमा असन्तुलन हुन्छ,” यादवले भने।
उनले राष्ट्रिय परीक्षा बोर्डको संरचना र नियुक्ति प्रक्रियामा पनि प्रश्न उठाउँदै, “प्रदेशले परीक्षा सञ्चालन गर्ने भए बोर्डको नियुक्ति किन नेपाल सरकारले गर्ने? शिक्षा क्षेत्रमा राजनीतिकरण बढेकाले यसलाई सधैँका लागि राजनीति मुक्त गर्नुपर्छ,” स्पष्ट पारे।
यादवले आगामी कानुन र नीतिहरू शिक्षाको गुणस्तर वृद्धि हुने गरी ल्याउन आवश्यक रहेकोमा समितिलाई ध्यानाकर्षण गराए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया