काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि अड्किएको गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा ल्याइने बताएका छन्।
बिहीबार धनगढीमा नेपाल प्रेस युनियन, कैलालीको आयोजनामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनमा कुनै अवरोध नभएको र यसलाई राष्ट्रिय आवश्यकताका रूपमा अघि बढाउन सरकार दृढ रहेको जानकारी दिएका छन्।
उनले विधेयक संसदबाट पारित भएपछि संरचना निर्माण र पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। मन्त्री पौडेलले भने, “अहिले छ वटा प्रदेशमा मेडिकल कलेजहरू सञ्चालनमा छन्। बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु हाम्रो दायित्व हो।”
मन्त्रीले विगतमा संघ र प्रदेशबीच अधिकारसम्बन्धी विवादका कारण गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै भने, “गेटा अस्पतालमा ३०० शैय्यामा विस्तार गरेर मेडिकल कलेज सञ्चालन गर्ने योजना थियो, तर विवादका कारण निर्णय कार्यान्वयन हुन सकेन। अब यसलाई विवादको विषय होइन, जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रको अपरिहार्य पूर्वाधारको रूपमा लिनुपर्छ।”
उनले गेटा मेडिकल कलेज आफ्नो पहिलो प्राथमिकताको परियोजना रहेको बताए र कार्यकालभित्र यसलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री पौडेलका अनुसार, आफ्नो चासो देखाएपछि अस्पतालमा बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। “पहिले दैनिक करिब ५० जना बिरामी आउँथे, अहिले दैनिक ३०० जना बिरामी उपचारका लागि आउँछन्,” उनले जानकारी दिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया