काठमाडौं । भियतनामी उपराष्ट्रपति भो थिआन सुआन तीन दिने आधिकारिक भ्रमणका लागि नेपाल आउने भएकी छन्। उपराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणको क्रममा उनी भदौ ७ गते बैंकक हुँदै साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतस्थित भियतनामी दूतावास सक्रिय रहेका छन्। मन्त्रालयले उनको कार्यक्रम र भेटघाटको एजेन्डाबारे विस्तृत छलफल गरिरहेको स्रोतले जनाएको छ।

advertisement

नेपालमा उपराष्ट्रपति सुआन शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी परराष्ट्रमन्त्री डा. आरजु राणासँग पनि भेट्ने अपेक्षा गरिएको छ।

भदौ ९ गते, नेपाल–भारत सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठको कार्यक्रममा सहभागी हुनुको साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेर उनी स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ।

राजनीतिमा प्रवेश गर्नु अघि भियतनामी शिक्षक भएकी सुआन सन् १९९५ देखि भियतनामको कम्युनिस्ट पार्टीमा आबद्ध भएकी हुन्। सन् २०२१ मा उपराष्ट्रपतिमा निर्वाचित भइ उनले २०२१ र २०२३ मा दुईपटक कार्यवाहक राष्ट्रपति पनि भइसकेकी छिन्।

सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनाम भ्रमणका क्रममा कूटनीतिक तथा राजनैतिक पासपोर्टधारीलाई भिसा छुट दिने समझौता, परराष्ट्र मन्त्रालयबीच परामर्श संयन्त्र स्थापना, र व्यापार–लगानी सहयोग सम्बन्धी रूपरेखा सम्झौता भएको थियो। दुवै पक्षले आर्थिक तथा व्यापारिक सहयोग अझै क्षमताभन्दा कम रहेको मूल्यांकन गर्दै त्यसलाई वृद्धि गर्ने सहमति जनाएका थिए।

सन् २०१८ अप्रिलमा नेपाल–भियतनाम च्याम्बर अफ कमर्सबीच भएको सम्झौता नवीकरण, कृषिजन्य उत्पादनमा आपसी बजार पहुँच, कृषि विज्ञान तथा प्राविधिक अनुसन्धानमा सहकार्य, कृषिविद आदानप्रदान प्रवर्द्धन, एलडीसीबाट शीघ्र स्नातक हुने नेपाल सरकारको लक्ष्यमा भियतनामको समर्थन, नेपाली उत्पादनको भियतनामी बजारमा प्रविष्टि र भियतनामी लगानीकर्तालाई नेपालमा लगानी प्रोत्साहन गर्ने प्रतिबद्धता पनि यस भ्रमणसँग सम्बन्धित पूर्वव्यवस्थाका रूपमा रहेको छ।

त्यस्तै, अपराधी सम्बन्धी सूचना साटासाट, आपराधिक न्यायसम्बन्धी समझौता, प्रत्यक्ष हवाई सेवा स्थापना, र नेपाल–भियतनाम अध्ययन केन्द्रको प्रभावकारी कार्यको सराहना तथा हनोईमा भियतनाम–नेपाल मैत्री संघ स्थापना गर्ने सहमतिका विषयहरू पनि यस भ्रमणसँग सम्बन्धित रहेका छन्।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com