काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताप्रति आपत्ति जनाउँदै सबै राजनीतिक दलहरूले साझा एकता प्रदर्शन गर्नुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले आफ्नो पार्टीले यस सम्झौता स्वीकार नगर्ने स्पष्ट पारे। उनले भने, “हाम्रो भूमिको बारेमा दुवै छिमेकीले गरेको यो व्यवहार गम्भीर अस्वीकृतिपूर्ण छ। नेपाल सरकारले जुन पहल अघि बढाइरहेको छ, त्यसमा सबै दलहरूलाई समेटेर अघि बढाउनुपर्छ।”
महामन्त्री थापाले थपे, “यो संवेदनशील विषयमा सबै राजनीतिक दलहरूले एउटै ठाउँमा उभिएर साझा सन्देश दिनुपर्छ। उग्र राष्ट्रवादी मानसिकतामा नफसौं, तर हाम्रो भूमिमाथि आँखा राख्ने कुनै पनि कदम स्वीकार्य छैन। नेपालले स्पष्ट प्रतिवाद गर्नेछ। हामीले साझा पोजिसन तयार पार्नुपर्छ।”
उनको यो भनाइले नेपालका भू–संपत्ति र राष्ट्रिय अखण्डतासँग सम्बन्धित संवेदनशील विषयमा राजनीतिक एकताका आवश्यकतालाई जोड दिएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया