काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारत–चीनबीच लिपुलेक नाका सञ्चालनसम्बन्धी सहमति नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि हस्तक्षेप भएको भन्दै खारेज गर्न सरकारसँग माग गरेको छ। साथै पार्टीले गाजामा इजरायली आक्रमणको पनि कडा शब्दमा भर्त्सना गरेको छ।
पार्टीको बिहीबार जारी वक्तव्यमा भनिएको छ, “दार्चुलाको कालापानीसहितको भूभाग नेपालको अविभाज्य हिस्सा हो। तर भारतले उक्त क्षेत्रमा लामो समयदेखि सैन्य कब्जा जमाइरहेको छ। त्यसमा चीनले पनि लिपुलेकलाई व्यापारिक नाका बनाउन सहमति जनाउनु नेपालको सार्वभौमसत्तामाथि ठाडो आक्रमण हो।”
जनमोर्चाले सरकारसँग आग्रह गरेको छ कि कालापानीमा भारतीय सेनाको फिर्तीका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गरियोस्।
साथै, वक्तव्यमा इजरायली सरकारले गाजामा बढाएको आक्रमणलाई प्यालेस्टिनी जनतालाई राज्यविहीन बनाउन खोज्ने प्रयास भएको भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। पार्टीले संयुक्त राष्ट्रसंघद्वारा प्रस्तावित दुई राष्ट्र समाधानको पक्षमा रहेर प्यालेस्टिनी जनताको स्वतन्त्र राष्ट्र निर्माणको समर्थन गर्ने जनाएको छ।
त्यसैगरी, पार्टीले संविधानले सुनिश्चित गरेको मौलिक हकका रूपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले निजीकरणको नीति लागू गर्दै आएको आरोप लगाउँदै निजी मेडिकल कलेजका लागि मात्रै सिट बढाउने सरकारको निर्णय फिर्ता गर्न माग गरेको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया