काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको सक्रिय कार्यकर्ताका रूपमा पार्टीमा लागिरहने स्पष्ट गरेकी छिन्।
बिहीबार काठमाडौंको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले माले कालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको स्मरण गर्दै, एमालेकै सदस्य र कार्यकर्ताको रूपमा आगामी दिनमा पनि निरन्तर योगदान दिने बताइन्।
उनले भनिन्, ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्त र धारणा अनुसार काम गर्छु। मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ। तर, पार्टीभित्र विकृति–विसंगति फैल्यो भने त्यसको विरोधमा म सधैं उभिनेछु।’
यस क्रममा उनले पार्टी केन्द्रीय कार्यालय च्यासलतर्फ संकेत गर्दै आफ्नै सदस्यता प्रश्नवाचक बनाइएको गुनासो समेत गरिन्।
‘म निरन्तर काम गरिरहेको छु। तर मेरो सदस्यता नै प्रश्न उठाइएको छ। माले कालदेखि नै सदस्यता लिएको हुँ, २०३७ सालमै। अहिले ४५ वर्ष पुगिसकेको छ। राष्ट्रपतिको शपथ गर्दा पनि मैले पार्टीको निर्णयअनुसारै जिम्मेवारी वहन गरेको थिएँ,’ भण्डारीले स्मरण गरिन्।
आफू आलोचनाभन्दा बाहिर नरहेको प्रस्ट पार्दै उनले तथ्यमा आधारित आलोचना गर्न आग्रह गरिन्।
‘म आलोचनाभन्दा बाहिर छैन। तर आलोचना तथ्यमा आधारित हुनुपर्छ। म निरन्तर नेकपा एमालेकै कार्यकर्ताका रूपमा काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अंगालेको जनताको बहुदलीय जनवाद (जबज) को मर्म र भावना अनुसार काम गर्ने बेला आएको छ। त्यसको मूल्यांकन र समीक्षा अब गर्नुपर्ने आवश्यकता छ।’
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया