काठमाडौं । नेपालमा पर्यटक र अध्ययन भिसामा प्रवेश गरेका तीन जना इन्डोनेशियाली महिलालाई शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा अध्यागमन विभागले पक्राउ गरेको छ।
अध्यागमन विभागका अनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर अनुसन्धानपछि उनीहरू कुनै शैक्षिक संस्थामा भर्ना नभएको पुष्टि भएको छ। अध्ययन भिसा लिएकाहरूले ललितपुरको धोबीघाटस्थित मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितैषी समाज अन्तर्गत गर्ल्स होस्टेल सञ्चालन गर्दै आफूलाई शिक्षकका रूपमा परिचय दिइरहेका थिए।
स्रोतका अनुसार उनीहरूले सो होस्टेलमा छात्रालाई टर्कीस भाषा र कुरान पढाउनुका साथै मुस्लिम धर्म प्रचारप्रसारसमेत गरिरहेका थिए। सोही संस्थाले अन्तर्राष्ट्रिय निकायबाट धर्म प्रचारको नाममा वार्षिक करिब दुई करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
विभागले ती महिलालाई पक्राउ गर्दा होस्टेलमा करिब ५० जना छात्रा रहेका र उनीहरू अन्य शैक्षिक संस्थामा अध्ययन नगरेको तथ्य फेला परेको छ। यसैगरी ललितपुरकै ज्वागलमा समेत ब्वाइज होस्टेल सञ्चालन गरी विभिन्न जिल्लाका व्यक्तिलाई कुरान पढाउने र धार्मिक प्रचारकार्य भइरहेको विभागले जनाएको छ।
नेपालको अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ अनुसार पर्यटक वा अध्ययन भिसामा आएका विदेशीले कुनै उद्योग, व्यवसाय वा संस्थामा काम गर्न पाउने कानुनी व्यवस्था छैन। भिसाको उद्देश्य विपरीत गतिविधि गर्ने विदेशीलाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना तथा तोकिएको वा अनिश्चित कालका लागि नेपाल पुनः प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गर्न सकिने प्रावधान छ।
हाल पक्राउ परेका तीन इन्डोनेशियाली महिलामाथि थप अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया