धुलिखेल ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्।

काभ्रेपलाञ्चोकबाट प्रकाशन हुँदै आएको सुसन्देश साप्ताहिकको २३औँ वर्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित ‘डिजिटल युगमा छापा सञ्चारमाध्यमको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले खोज पत्रकारितालाई केन्द्रमा राखेर समाचार सङ्कलन र सम्प्रेषण गर्दा पत्रिकाको भविष्य सुनिश्चित हुने धारणा राख्नुभयो ।

advertisement

पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको जनाउँदै पूर्वसभामुखसमेत रहनुभएका सापकोटाले विशेष गरी कृत्रिम बौद्धिकता(एआई) का कारण पत्रकारहरूले खोज तथा अनुसन्धानका क्षेत्र ओझेलमा पर्ने जोखिम बढ्दै गएको बताए । एआईको मात्रै भर पर्दा गाउँगाउँका, पिछडा वर्गका नागरिकको आवाज, उनिहरूको अवस्था, राज्यले खेल्नुपर्ने भूमिकालगायत विषय ओझेलमा पर्ने उनको भनाइ छ ।

“समाजमा हत्या, हिंसा, सामाजिक विभेद्को अवस्था डरलाग्दो बन्दै गएको अवस्थामा त्यसलाई उजागर गर्दै आमनागरिकलाई जागरुक बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ”, प्रवक्ता सापकोटाले भने, “त्यसका लागि पत्रकार स्वयंले समाजमा विद्यमान विकृति, विसङ्गतिका विरुद्ध खोजी गरी कलम चलाउने, नागरिकलाई सचेत बनाउने, राज्य र सरोकार भएका निकायलाई घचघच्याउने काममा लाग्न जरुरी छ ।”

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पछिल्लो समय पत्रकारहरू एआईको सहायतामा काम गर्न थालेकाले गाउँमा भएका सूचना नआउने अवस्थातर्फ पुग्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । स्थलगत रूपमा (रिपोर्टिङमा) खटिने पत्रकारको वर्तमान परिपेक्षमा पनि आवश्यकता रहेको उनको भनाइ छ ।

“एआईले गुगलमा भएका विषयबारे खोजेर दिने गर्दछ, तर गाउँका कुनाकाप्चामा भएका, समाचारीय मूल्य भएका विषय स्थलगत रूपमा खटेर मात्रै सङ्कलन र सम्प्रेषण गर्न सकिन्छ । तसर्थ पत्रकार थप सक्रिय भएर रिपोर्टिङमा लाग्नुपर्ने हुन्छ”, सञ्चार रजिष्ट्रार सापकोटाले भने । प्रविधिलाई उपयोग गरेर, एआईको सहयोग लिएर आफूलाई प्रविधिमैत्री बनाउन सकिने उनले धारणा राखे ।

कार्यक्रममा सङ्घीय सांसद सूर्यमान दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणी नेपाललगायत वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्वसभामुख सापकोटाले नेत्रवाण मिडिया प्रालिले सञ्चालनमा ल्याएको अनलाइन नेत्रवाण डटकमको शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com