काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका वास्तविक समस्या समाजवादी राज्य व्यवस्थामार्फत मात्र समाधान हुने बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अनेत्रम) गण्डकी प्रदेश समितिद्वारा बिहीबार पोखरामा आयोजित ‘वैचारिक तथा राजनीतिक प्रशिक्षण’ कार्यक्रममा बोल्दै उनले वर्तमान व्यवस्था सहमति र सम्झौताबाट आएको भएकाले मजदुरले सम्पूर्ण अधिकार प्राप्त गर्न नसकेको टिप्पणी गरे।
“मजदुर तथा उत्पीडित वर्गका समस्या समाधान समाजवादमै सम्भव छ। त्यसका लागि अब समाजवादी क्रान्तिको तयारी गर्नु पर्दछ,” उनले भने।
प्रचण्डले समाजवादी शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा एउटै केन्द्र बनाएर समाजवादी क्रान्तिको रणनीति अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले भने, “सम्भव भएसम्म समाजवादीबीच एकता होस् भन्ने चाहना छ। विशाल शक्ति निर्माण गर्दै निर्वाचनतर्फ केन्द्रित हुनु आवश्यक छ।”
उनले विगतका उपलब्धि उल्ट्याउने प्रयास हुन सक्ने चेतावनी दिँदै त्यसविरुद्ध उच्च मनोबल र वैचारिक स्पष्टतासहित नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताए। पार्टीमा गुटबन्दीलाई अब छुट नदिने प्रचण्डले स्पष्ट पारे।
“पार्टीको नीति, नियम र अनुशासन विपरीत जानेलाई कडाभन्दा कडा कारबाही गरिनेछ। स्थायी समिति बैठकमा अन्तिमसम्म एकताको प्रयास भएको हो। अब कसैलाई नियम उल्लंघन गर्ने छुट छैन,” उनले चेतावनी दिए।
प्रचण्डले आगामी केन्द्रीय समिति बैठकपछि गाउँ–गाउँमा संगठन निर्माण र विस्तारका लागि नेताहरुलाई जिम्मेवारी तोक्ने जानकारीसमेत दिए।
कार्यक्रममा अनेत्रमका फ्याक्सन इन्चार्ज रामदीप आचार्य, गण्डकी संयोजक रुद्र गौतमलगायत नेताले राजनीतिक परिवर्तनमा मजदुरको भूमिका र वर्तमान चुनौतीबारे धारणा राखेका थिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया