काठमाडौं । गृहमन्त्री रमेश लेखकले यौनजन्य हिंसा, साइबर अपराध र लागूऔषधजस्ता समाजका गम्भीर समस्या नियन्त्रणमा महिला प्रहरीको भूमिका निर्णायक हुने बताएका छन्।
नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजना गरिएको ‘प्रथम महिला प्रहरी सम्मेलन–२०८२’ को बिहीबार उद्घाटन गर्दै उनले महिलाहरूलाई अग्रमोर्चामा परिचालन गर्ने संकेत दिएका हुन्।
“यौनजन्य हिंसा, लागूऔषध र साइबर अपराध आजका गम्भीर चुनौती हुन्, जसबाट महिला र बालबालिका सबैभन्दा बढी पीडित छन्। यस्ता अपराधको अनुसन्धान र न्यूनीकरणमा महिला प्रहरीको संलग्नता पुरुषभन्दा कैयौं गुणा बढी प्रभावकारी हुन्छ,” गृहमन्त्री लेखकले भने।
उनले देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई अझ सक्रिय बनाउन निर्देशनसमेत दिए।
कार्यक्रममा नेपाल प्रहरीकी प्रथम महिला प्रहरी चैतमाया डंगोलदेखि अवकाशप्राप्त एआईजी डा. दुर्गा थापा र पूजा सिंहसम्मलाई सम्मान गरिएको थियो।
प्रहरी महानिरीक्षक दिपक थापाले महिला प्रहरीलाई केवल तथ्याङ्कमा सीमित नराखी गुणात्मक, प्रभावकारी र नेतृत्वदायी भूमिकामा सहभागी गराइने बताए। “यो सम्मेलन ज्ञान, प्रेरणा र परिवर्तनको संवाहक बन्नेछ,” उनले भने।
दुई दिनसम्म चल्ने सम्मेलनले नेपाल प्रहरीको लैङ्गिक नीति २०८१ लाई कार्यान्वयन गर्दै महिला प्रहरीका चुनौती, अवसर र सशक्तिकरणका लागि ठोस कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ।
सम्बोधनको अन्त्यमा गृहमन्त्री लेखकले सम्पूर्ण प्रहरीलाई “नागरिकप्रति विनम्र र अपराधीप्रति निर्मम” भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया