काठमाडौं । लामो छलफल र विवादपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी प्रतिवेदन, २०८२’ आज (शुक्रबार) प्रतिनिधिसभामा पेस हुने भएको छ ।
दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीअनुसार समितिकी सभापति कुसुमदेवी थापाले प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । प्रतिवेदन पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका थिए ।
यद्यपि आज प्रतिवेदन पेस भए पनि छलफल सुरु नहुने भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरेले विशेष आदेश नगरेसम्म प्रतिवेदन पेस भएको कम्तीमा २४ घण्टापछि मात्र छलफल गर्न सकिने प्रावधान छ ।
‘नियमावलीअनुसार प्रतिवेदन पेस भएको २४ घण्टा पछाडिको कुनै बैठकमै छलफल गर्न सकिन्छ,’ गिरीले बताए ।
यस्तै, बिहीबारै फरक मतसहित पारित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन भने अहिलेसम्म संसद् सचिवालयमा नपुगेको गिरीले जानकारी दिए । उनले प्रतिवेदन बैठकअघि सचिवालयमा पुग्ने हो भने सभामा पेस गर्न भने कुनै समस्या नहुने स्पष्ट पारे ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया