काठमाडौं । भारत र चीनले नेपालको पूर्व सहमति र परामर्शबिनै लिपुलेक नाका व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने निर्णय गरेकोप्रति नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले कडा आपत्ति जनाएको छ ।

शुक्रबार जारी गरिएको विज्ञप्तिमा पार्टीले यस कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति गरिएको गम्भीर उपेक्षा तथा अपमानको उदाहरण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालले प्रष्ट आपत्ति जनाइरहँदा पनि भारत र चीनले पुनः त्यही गल्ती दोहोर्‍याउनु दुःखद मात्र नभई छिमेकीको हेपाहा प्रवृत्ति हो।”

advertisement

सीमा विवादजस्ता संवेदनशील मुद्दा समाधानका लागि नेपाल सरकारले प्रभावकारी, दृढ र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै पार्टीले भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहमतीय ढाँचा निर्माण गर्नुपर्ने सुझाव दिएको छ ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिबाटै लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने प्रक्रिया सुरु भएको स्मरण गराउँदै, त्यतिबेलै नेपाल सरकारले कूटनीतिक असहमति जनाएको पार्टीले औंल्याएको छ । तर, सरकारको कमजोरी र दृढताको अभावले सीमा र राष्ट्रिय हितसम्बन्धी मुद्दा झन् जटिल बनेको भन्दै आलोचना गरिएको छ ।

“नेपाल कुनै पनि शक्तिको हेपाइ वा चेपुवामा पर्नुपर्ने देश होइन । बरु दुई विशाल अर्थतन्त्रबीचको गतिशील पुलका रूपमा नेपालको भूमिका अझ सबल बनाउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

पार्टीका प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञप्तिमा सरकारले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक कदम तत्काल चाल्न जोडदार माग गरिएको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com