भोजपुर ।  नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो ।

भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र नवीकरण र स्वास्थ्य जाँच सेवा पनि सञ्चालन भइरहेको अध्यक्ष राईले बताए ।

advertisement

“हामीले नागरिकको सहजताका लागि शिविरमार्फत सेवा प्रदान गर्दै आएका छौँ, भौगोलिक विकटताका कारण नागरिकलाई सेवा लिन गाउँपालिकासम्म आउन समस्या छ । स्थानीय सरकारको सेवा जनताको घरदैलोसम्म पुर्याउने लक्ष्यले घुम्ती शिविरबाट सेवा दिइएका हौँ”, अध्यक्ष राईले भने ।

साउनमै भत्ता वितरण हुनुपर्ने भए पनि गाउँपालिकामा रहेको बैंकको शाखाले जनशक्ति व्यवस्थापन गर्न ढिलाइ गर्दा वितरणमा केही ढिला भएको उनको भनाइ छ । सहज रूपमा वडामा भत्ता पाएपछि वृद्धवृद्धा तथा असक्त नागरिक खुसी भएका छन् ।

आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा हर्षित भएको वडा नं ३ भुल्केका होमबहादुर विश्वकर्माले बताउनुभयो । भत्ता लिन गाउँपालिका केन्द्रसम्म पुग्न धेरै सास्ती हुने गरेको उनको भनाइ छ । “वडाबाटै भत्ता पाउँदा सहजता भएको छ, बुढेसकालको ज्यान हिँडेर जान समस्या छ । गाडीमा जाँदा पनि धेरै खर्च हुन्थ्यो”, उनले भने ।

स्वास्थ्य शिविरसहित जनप्रतिनिधि आफैँ आएर वडामै भत्ता दिएकोप्रति डम्बरकुमारी खत्रीले खुसी प्रकट गरे । गाउँपालिकाले वृद्धवृद्धा तथा असक्तलाई सहज हुनेगरी काम गरेको उहाँको भनाइ छ । घर पायकमै भत्ता पाउँदा आफूलाई स्थानीय सरकार भएको अनुभूति भएको उनि बताउछन् ।

आठ वडामध्ये हालसम्म वडा नं १ ओख्रेमा एक सय ४१ जनालाई सामाजिक सुरक्षा भत्ता, १४ जनालाई राष्ट्रिय परिचयपत्र, वडा नं २ धोद्लेखानीमा ७२ जनालाई सामाजिक सुरक्षा भत्ता, चार जनालाई राष्ट्रिय परिचयपत्र र वडा नं ३ भुल्केमा एक सय ३१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र ३५ जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ । गाउँपालिकाका अनुसार अन्य वडामा पनि क्रमशः वितरण गरेर भदौ ११ गते वडा नं ८ खोक्सिकमा शिविर सम्पन्न हुनेछ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com