काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारत–चीनबीच भएको नेपालविरोधी सम्झौता तत्काल खारेज गर्न माग गरेका छन् ।

खनालले शुक्रबार जारी गरेको विज्ञप्तिमा दिल्लीमा सम्पन्न १२ बुँदे सम्झौतामध्ये ९औँ बुँदाले लिपुलेक मार्ग हुँदै भारत–चीन व्यापार पुनः सुरु गर्ने सहमति गरेको उल्लेख गर्दै यसलाई नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतामाथि गम्भीर आघात भएको बताएका छन् ।

advertisement

उनका अनुसार उक्त सम्झौताले देशभित्रका साथै प्रवासमा रहेका नेपालीहरूको राष्ट्रिय भावना गहिरो रूपमा आहत बनाएको छ र यसको विरोधस्वरूप नेपालीहरू सडकमा उत्रिन बाध्य भएका छन् ।

खनालले सबै राजनीतिक दल, देशभक्त संघ–संस्था र आम नागरिकलाई राष्ट्रिय हितको पक्षमा एकजुट भई संसद्बाट साझा आवाजमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

‘भारतीय विस्तारवादी तर्कलाई खारेज गरौँ । नेपालको भू–भागबारे ऐतिहासिक सन्धि–सम्झौता, नक्सा, अभिलेख, भिडियो लगायतका प्रमाण व्यवस्थित गरी नेपाली जनता मात्र होइन विश्वसमक्ष स्पष्ट पारौँ,’ खनालले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com