काठमाडौं । थाइल्यान्डको अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि लागेको शाही अपमान र देशद्रोहसम्बन्धी मुद्दा खारेज गरेको छ ।
सन् २०१५ मा निर्वासनमा रहेका बेला थाक्सिनले दक्षिण कोरियाली पत्रिकासँग गरेको अन्तर्वार्तालाई आधार मानेर यो आरोप लगाइएको थियो । दोषी ठहर भएको भए उनलाई १५ वर्षसम्म कैद सजाय हुने सम्भावना थियो ।
उक्त अन्तर्वार्तामा थाक्सिनले थाइल्यान्डको प्रिभी काउन्सिल (शाही सल्लाहकार निकाय) लाई २०१४ को सैनिक विद्रोहमा सहयोग गरेको आरोप लगाएका थिए । सोही विद्रोहमार्फत उनकी बहिनी यिंगलक शिनावात्राको सरकार अपदस्थ भएको थियो ।
थाइल्यान्डको ‘लेसे–मजेस्टे’ कानुनले राजतन्त्रको आलोचना वा अपमानलाई अपराधको रूपमा व्याख्या गर्छ । तर आलोचकहरूले यसलाई प्रायः राजनीतिक विरोधी र कार्यकर्तामाथि दमन गर्ने हतियारका रूपमा प्रयोग गरिने गरेको दाबी गर्दै आएका छन् ।
यसबीच, थाक्सिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्रामाथि पनि अदालतमा मुद्दा विचाराधीन रहँदा थाइल्यान्ड सर्वोच्च अदालतको यो फैसला आएको हो ।
(यसअघि तस्वीर फरक पर्न गएकाेमा सच्चाइएकाे – सम्पादक )
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया