काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेका छन्।
प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको स्वामित्वमा रहेको ऐतिहासिक तथ्य र प्रमाणले प्रस्ट पारेको बताए। उनले भने, “दुई देशबीच व्यापारका नाममा करिडोर वा सडक निर्माण गर्न पाइँदैन। यो विषय डिप्लोमेटिक तहमा पुगेको छ र समाधान पनि त्यही बाटोबाट खोजिन्छ।”
गुरुङले भारतले नेपालकै भूमि उपयोग गर्दै आएको तथ्यलाई उल्लेख गर्दै कूटनीतिक माध्यमबाट वार्ता र संवादमार्फत समस्या समाधान गर्ने सरकारको नीति रहेको स्पष्ट पारे। “लडाइँ गरेर होइन, कूटनीतिक संवादमार्फत समाधान खोज्ने हो,” उनले जोड दिए।
भारत र चीनले लिपुलेक पासमार्फत व्यापार पुनः सुरु गर्ने सहमति गरेपछि विवाद सतहमा आएको सन्दर्भमा उनले नेपालले आफ्नो चासो स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताए। यस विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक कूटनीतिक नोट जारी गर्नु उपयुक्त हुने उनको भनाइ थियो।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया