काठमाडाैं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेतालाई प्रहरीले पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका हरिप्रसाद कँडेललाई बिहीबार चितवनबाट पक्राउ गरी रूपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीले जानकारी दिए। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकसमेत हुन्।
उनले आफ्नो नाम अगाडि “डा.” प्रयोग गर्दै आएका थिए। रास्वपा चितवनका अध्यक्ष कृष्ण भुसालले पनि कँडेल पार्टीको प्रदेशस्तरीय पदाधिकारी रहेको पुष्टि गरेका छन्।
यसअघि गत साउन ३० गते रूपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट प्रहरीले भारतको कानपुरका अभिषेक यादवलाई ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ गरेको थियो। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, ४,०४० थान होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डका १,७०० थान होलोग्राम, एमिटी विश्वविद्यालयसहित भारतका विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र, मार्कसिट र स्ट्याम्प बरामद भएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा यादवले कँडेलका लागि नक्कली कागजात तयार गर्ने गरेको बयान दिएका थिए। अनुसन्धानमै कँडेल चितवनमा “कलेज कोच नेपाल प्रालि” नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको र त्यहीमार्फत नक्कली प्रमाणपत्र बनाउने तथा विद्यार्थीलाई विदेश पठाउने काम गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
पूर्वशिक्षकसमेत रहेका कँडेल यसअघि प्रधानाध्यापक पदमै अयोग्य ठहर भइसकेका थिए। उनीमाथि हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया