काठमाडौं । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले सत्तापक्ष नेकपा (एमाले)का सांसद योगेश भट्टराईलाई कडा जवाफ दिएकी छन्।

बिहीबारको बैठकमा सांसद भट्टराईले रास्वपामाथि डबल स्ट्याण्डर्डको आरोप लगाएका थिए। उनी भन्छन्, “सहकारी ठगी सम्बन्धी अदालतका आदेशमा सरकारले दबाब दिएको हो कि छैन? धरौटीमा छाड्दा न्यायाधीश जिन्दावाद, थुनामा पठाउँदा मुर्दावाद? यसरी द्वेध चरित्र देखिएको छ।”

advertisement

यसै उत्तरमा सांसद डाँगीले सत्तापक्षमाथि प्रतिकार गर्दै भनेकी छन् कि आफ्नै कमजोरी स्वीकार नगरी अरूलाई आरोप लगाउने प्रवृत्तिमै उनीहरूले डबल स्ट्याण्डर्ड देखाएको छ।

सांसद डाँगीले भनिन्, “संवैधानिक परिषद्को बैठक महिनौंसम्म नबसी महत्वपूर्ण पद रिक्त राखिएको छ। राजनीतिक र प्रशासनिक साजिश जारी छ। दुई तिहाइको सरकारले जनताको समस्या समाधानमा ३० प्रतिशत पनि कदम चाल्न सकेको छैन। मन्त्रीसँग जोडिएको गम्भीर आरोप आए पनि सरकारले चुपचाप बसेको छ।”

उनले सत्तापक्षले रास्वपालाई नैतिकता सिकाउन खोज्नु अनावश्यक भएको उल्लेख गर्दै भनिन्, “भ्रष्टाचार र विभिन्न कालखण्डका काण्डबाट निस्कन नसकेको पार्टीहरूले हामीलाई नैतिकताको प्रश्न सोध्ने प्रयास गरिरहेका छन्। यो त परीक्षामा कहिल्यै पास नभएका विद्यार्थीले अरूलाई पास हुन सिकाउने जस्तै छ। अब बन्द गरिदिनुस् नैतिकताको प्रश्न उठाउन।”

सांसद डाँगीले भने, “सरकार जनताको समस्या समाधानमा सुस्त भए पनि उपसभामुख हटाउन भने अचम्मको फुर्ती देखाएको छ। यसपटक सरकारले न्याय होइन, पक्षपातको नयाँ मापदण्ड स्थापित गरेको छ। यसलाई राजनीतिक परिपक्वता भन्नुहुन्छ भने शब्दकोषमा यसको परिभाषा छुट्टै लेख्नुपर्छ।”

यसरी सांसद डाँगीले सत्तापक्षको आलोचना गर्दै सरकारको पक्षपातपूर्ण निर्णय र ढिलासुस्तीको विषयमा आफ्नो धारणा प्रष्ट पारेकी छन्।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com