काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले चीन र भारतबीच नेपालको लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि सञ्चालन गर्ने सहमति सम्बन्धी सरकारको स्पष्ट जवाफ मागेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “यो विषय नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकतासँग प्रत्यक्ष सम्बन्धित छ। यस्तो संवेदनशील मामलामा सरकार चुप लागेर बस्नु ठीक छैन।”
साहले प्रश्न गरे, “नेपालको भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो भूभाग हो भन्ने विषयमा दश वर्षअगाडि नै नेपाल सरकारले दुवै छिमेकी देशलाई कुटनीतिक नोट पठाइसकेको थियो। त्यो पहल भइराख्दा फेरि किन यस्तो प्रश्न उठिरहेको हो?”
उहाँले नेपालका दुवै देशमा रहेका राजदूतहरूको भूमिका र कार्यसम्पादनको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “राजदूतहरू के गर्दै बसेका छन्? राजनीतिक असली नियुक्तिले नेपालको कूटनीतिक क्षमता कमजोर हुँदै गएको छ। यो घटनाले त्यसको प्रमाण दिएको छ।”
साहले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षमा हुँदा नेपालको भूभाग फिर्ता ल्याउनुपर्ने बताएको स्मरण गराउँदै प्रश्न गरे, “उहाँ अहिले दुवै छिमेकी देशको भ्रमणमा हुनुहुन्छ। त्यस भ्रमणको पहिलो सूचीमा यो संवेदनशील विषय समावेश छ कि छैन?”
उनले सबै राजनीतिक दलहरूबीच मिलेर, राजनीतिक स्टन्टबिना र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया