काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले महिलाको प्रहरी सेवाप्रति आकर्षण तीव्र गतिमा बढिरहेको बताएका छन्।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा सम्पन्न प्रथम महिला प्रहरी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले अहिले प्रहरी संगठनमा १२.४१ प्रतिशत महिलाको सहभागिता रहेको जानकारी दिए। उनले भने, “अहिले प्रहरीमा महिलाको उपस्थिति बढ्दै गएको छ, प्रहरी संगठनप्रति आकर्षण उल्लेख्य रूपमा देखिएको छ।”

advertisement

उनले प्रहरी सेवामा लिङ्गभन्दा पहिला पेशागत पहिचान महत्वपूर्ण हुने भन्दै, “हामी सबैभन्दा पहिला प्रहरी हौँ, त्यसपछि मात्र महिला वा पुरुष भन्ने कुरा आउँछ,” स्पष्ट पारे।

आईजीपी थापाले महिलाले कठिन तालिममा सहभागिता जनाउन हिच्किचाउने प्रवृत्ति अझै रहेको बताए। उनले भने, “युएन मिसन वा विदेश तालिममा जान चाहनेहरू धेरै हुन्छन्, तर चुनौतीपूर्ण तालिममा नाम मनोनयन हुँदा महिलाहरू पछि हट्ने प्रवृत्ति देखिन्छ। सम्मेलनको उद्देश्य नै तपाईँहरूलाई थप सक्षम र दर्बिलो बनाउनु हो।”

पितृसत्तात्मक सोच परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उनले दम्पती प्रहरीलाई एउटै स्थानमा कार्य गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले उदाहरण दिँदै भने, “रामेछापको धोवीमा श्रीमती खटिएकी भए, श्रीमानलाई पनि त्यहीँ पोस्टिङ हुने अवस्था अब सिर्जना हुनुपर्छ।”

साथै, सुगम स्थानमा श्रीमतीको सरुवा भएपछि श्रीमान पनि त्यहीँ बस्न खोज्ने प्रवृत्ति संगठनका लागि चुनौती हुने भन्दै उनले यसलाई निरुत्साहित गरिने बताए। “संगठनले तपाईँहरूको क्षमता अभिवृद्धि गर्ने काम निरन्तर गर्छ,” आईजीपी थापाले थपे।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com