काठमाडौं । चार दलीय समाजवादी मोर्चाले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपाली भूभाग फिर्ता ल्याउन सरकारसँग सक्रिय पहल गर्न माग गरेको छ।
मोर्चाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि भारत र चीनबीच हालै पुलान–गुन्जी जोड्ने लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने र दुई पक्षीय व्यापार पुनर्स्थापना गर्ने समझदारी प्रति गम्भीर ध्यानाकर्षण भएको छ। यसले नेपालको भूभागमा पहुँच र सार्वभौमिक अधिकारमाथि प्रत्यक्ष प्रभाव पारेको मोर्चाको भनाइ छ।
विज्ञप्तिमा उल्लेख छ, “ऐतिहासिक तथ्य र दुई पक्षीय सन्धिहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग भएको पुष्टि गर्दछ। तर विगत केही समयदेखि भारतीय पक्षले ती भूभागमा अतिक्रमण जारी राखेको छ। नेपाल सरकारले कुटनीतिक प्रयास गरेर पनि भूभाग फिर्ता ल्याउन पर्याप्त कदम चाल्न सकेको छैन। भारत–चीनबीचको हालको समझदारीले नेपालको सार्वभौमिक अधिकारमा गम्भीर चोट पुर्याएको छ।”
समाजवादी मोर्चाले उक्त सहमतिप्रति घोर विरोध प्रकट गर्दै सरकारलाई सम्बन्धित मुलुकहरूलाई नेपालको तर्फबाट सत्य–तथ्य जानकारी गराउन, सहमतिको विरोध गर्न र नेपाली भूभाग फिर्ता ल्याउन तत्काल पहल गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया