काठमाडौं । आमाको नाममा सन्तानले नागरिकता पाउने व्यवस्था समेटिएको ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभामा सभा अन्तर्गतको विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने प्रस्ताव पेस गरेका थिए। उनले विधेयकलाई उन्नत, व्यावहारिक र पारदर्शी बनाइएको भन्दै ऐतिहासिक उपलब्धि भएको र यसमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
संशोधन विधेयक अनुसार, नेपालको नागरिक आमाबाट नेपालमा जन्मेका र बसोबास गर्ने सन्तान, जसको बाबुको पहिचान हुन नसकेको, बाबु सम्पर्कविहीन वा आमाले बाबुको पहिचान गराउन नसकेको अवस्थामा, ती सन्तानलाई वंशजको नागरिकता प्रदान गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी, नेपालको नागरिक आमाबाट विदेशमा जन्मेका र नेपालमा स्थायी बसोबास गर्ने, विदेशको नागरिकता वा राहदानी नलिएकाहरूमा बाबुको पहिचान नभएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ। साथै, कुनै व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्रमा आमा वा बाबुको नाम, थर र ठेगाना उल्लेख नगर्न चाहेको खण्डमा, सोही अनुरूप नागरिकता जारी गर्न सकिने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ।
गृहमन्त्री लेखकका अनुसार, बाबु वा आमामध्ये एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र प्रदान गर्ने, जन्मको आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले नागरिकता पाउने, र अर्को आमाबाबुले नागरिकता प्राप्त गर्नु अघि मृत्यु वा सम्पर्कविहीन रहेको अवस्थामा अंगीकृत नागरिकता दिन सकिने व्यवस्था पनि विधेयकमा समेटिएको छ।
यस संशोधनसँगै नेपालमा नागरिकता सम्बन्धी कानुनी प्रक्रिया अझ स्पष्ट, न्यायसंगत र सन्तानको हक सुनिश्चित हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया