काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धिको गति रोकिनुको प्रमुख कारण राजनीतिक अस्थिरता मात्र नभई राज्यका अन्य अंगहरूको पुनर्संरचना र रूपान्तरणको अभाव रहेको बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देशको विकास र समृद्धि ढिला हुनुमा मुख्य जिम्मेवार राजनीतिक अस्थिरता हो भन्ने चर्चा भइरहे पनि, राज्यका अन्य अंगहरूको लोकतान्त्रिक रूपान्तरण नहुनु पनि कम महत्त्वको विषय होइन।”

advertisement

उनले विशेषगरी न्यायपालिका संकटग्रस्त रहेको टिप्पणी गर्दै भनेका छन्, “न्याय खोज्दै अदालत पुगेका नागरिकले सम्पर्क, पहुँच वा घूस बिना न्याय पाउन कठिन भएको अवस्था छ। अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग गर्न थालिएको छ। न्यायाधीशहरूले आफ्नो पद वा निजी स्वार्थअनुसार सरकारसँग मिलेर मुद्दा फैसला गर्नु चरम लज्जाको विषय हो।”

श्रेष्ठका अनुसार, यस परिस्थितिले निर्दोष नागरिक जेलमा परेका, सम्पत्ति गुमाएका र न्याय वञ्चित हुने अवस्था सिर्जना गरेको छ। उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूलाई गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको बताए।

उनले थपे, “राज्यका अंगहरूको पुनर्संरचना र रूपान्तरण अनिवार्य छ। यसका लागि सफा राजनीति र जिम्मेवार राजनीतिक नेतृत्वको आवश्यकता पर्छ।”

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com