काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवाका सबै पद खुला प्रतिस्पर्धाबाट भर्ना गर्न सकिने अवस्था नरहेको स्पष्ट पारेकी छन् ।

शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आफ्ना भनाइ प्रष्ट पार्दै उनले सबै पद खुला गर्दा कर्मचारीहरूले आफ्नो नियमित काममा भन्दा बढी लोक सेवा परीक्षामा ध्यान केन्द्रित गर्ने प्रवृत्ति देखिने भएकाले यस्तो व्यवस्था उपयुक्त नहुने बताइन् ।

advertisement

प्रतिनिधि सभाबाट पारित भइसकेको संघीय निजामती सेवा सम्बन्धी विधेयकमा अब नायब सुब्बा (नासु) र सहसचिव पद खुला विज्ञापनमार्फत भर्ना नहुने प्रस्ताव गरिएको छ । मन्त्री न्यौपानेका अनुसार खरिदार र नासु दुवै पदमा समान योग्यता र कोर्ष रहने भएकाले खरिदारमा खुला विज्ञापन भएपछि नासुमा समेत खुला राख्दा कर्मचारीहरू आफ्नो कार्यक्षेत्रभन्दा बढी परीक्षाको तयारीमा मात्र समय खर्च गर्ने अवस्था सिर्जना हुने हो ।

उनले थपिन्, “सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरू कार्यालयमा हाजिर त हुने तर ध्यान पढाइमै केन्द्रित हुने गर्छन्, जसले सरकारलाई अपेक्षित परिणाम दिन सक्दैन ।”

राष्ट्रिय सभामा अहिले छलफल भइरहेको उक्त विधेयकअनुसार खरिदार तहबाट मात्र आन्तरिक बढुवामार्फत नायब सुब्बामा प्रवेश गर्न सकिने छ । खरिदार पदमा प्रतिस्पर्धा गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, सहसचिव र नायब सुब्बामा खुला प्रतिस्पर्धा नहुने तर उपसचिव, शाखा अधिकृत र खरिदार (सहायक) पद भने खुला प्रतिस्पर्धाबाट भर्ने व्यवस्था राखिएको छ । साथै, उपसचिव पदको १० प्रतिशत मात्रै खुला विज्ञापनमार्फत पूर्ति गर्ने प्रावधान राखिएको छ ।

नयाँ व्यवस्थाअनुसार उपसचिवमा प्रतिस्पर्धा गर्न शाखा अधिकृतको सात वर्ष सेवा पूरा गर्नुपर्ने हुन्छ । हालसम्म सहसचिवमा खुला प्रतिस्पर्धा गर्ने व्यवस्था रहे पनि विधेयक पारित भएपछि सहसचिवमा खुला प्रतिस्पर्धा बन्द हुनेछ ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com