काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालको गौर हत्याकाण्ड राजनीतिक स्वरूपको देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्नु अस्वीकार्य हुने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस प्रकरणबारे निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन आवश्यक रहेको स्पष्ट पारे । केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर घटनालाई राजनीतिक घटना भनेको प्रसङ्ग उठाउँदै गुरुङले, ‘राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि सामूहिक हत्या गर्न पाउने अधिकार कसैलाई छैन,’ भने ।
गुरुङले तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गरेको स्मरण गर्दै मानव अधिकार आयोगले समेत सो घटनाबारे यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको जानकारी दिए । तर, सर्वोच्च अदालतले दिएको हालको छानबिन सम्बन्धी परमादेशप्रति भने उनले समय र सन्दर्भअनुसार आशङ्का गर्न सक्ने अवस्था धेरै रहेको बताए ।
उनले जसपा नेपालले भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै सरकार छाडेको प्रसङ्ग जोड्दै, अदालतको फैसला कतै सरकारको राजनीतिक प्रतिशोधसँग गाँसिएको त होइन भन्ने प्रश्न उठ्न सक्ने टिप्पणी गरे ।
‘माओवादीले अदालतले गर्ने फैसला जे भए पनि स्वीकार गर्छ,’ गुरुङले भने, ‘तर न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्नैपर्छ ।’
उनका अनुसार, कतिपय नीतिगत विषयमा निर्णय लिँदा अदालतले पर्याप्त ध्यान दिन नसकेको देखिएको छ, जसमा सुधार आवश्यक छ ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया