बुटवल । दाङको घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको दाबी गर्दै उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन् ।
शाहले रिट निवेदनमार्फत कार्यपालिका बैठकमा आफ्नो सम्मान विपरीत व्यवहार गरिएको र कानुनी प्रक्रिया नपुर्याई पदबाट हटाइएको आरोप लगाएका छन् । उनले राजीनामा दिएको दुई वर्षपछि मात्रै स्वीकृत गरिएको पनि गुनासो गरेका छन् ।
रिटमा शाहले कार्यवाहक अध्यक्ष तोक्ने निर्णय बदर गरी आफूलाई पुनः वडा अध्यक्षको जिम्मेवारीमा फर्काउन माग गरेका छन् । साथै, उनले अब एमालेको सदस्यता नलिने तर बाँकी कार्यकाल पूरा गर्न अदालतले पुनर्बहाली गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘जनताको मन जित्ने काम गर्दै गर्दा अन्यायपूर्वक पद खोसियो,’ शाहले दाबी गरेका छन् ।
उनीहरूले दायर गरेको रिटमा घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीसहित कार्यपालिका विपक्षी बनाइएका छन् ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया