काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकारलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
शनिबार न्युज एजेन्सीसँग कुरा गर्दै सापकोटाले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय संयन्त्रलाई आफ्नो नियन्त्रणमा लिन खोजिरहेको दाबी गरे।
उनले भने, “राज्यका सबै संयन्त्रमा दुई दलीय पकड कायम गर्ने प्रयास भइरहेको छ। विशेषगरी प्रधानमन्त्री ओली राष्ट्रिय संयन्त्रलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्ने दिशामा अघि बढिरहेका छन्।”
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने उद्देश्यले हस्ताक्षर संकलन भइरहेको खबर आएको उल्लेख गर्दै सापकोटाले त्यसलाई प्रतिशोधपूर्ण र बदनियतपूर्ण कदम भनेका छन्।
“उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छिन्। चुनावमार्फत नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्ने प्रावधान छ। तर, अहिले गरिएको पहल गैरसंसदीय र असंवैधानिक प्रक्रियामार्फत अघि बढाइएको हो,” सापकोटाको भनाइ छ।
प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार













प्रतिक्रिया