काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि कदम नचल्न नेतृत्वलाई आग्रह गरेका छन्।
आइतबार राजधानीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मङ्सिरमा महाधिवेशन गर्ने समय भइसकेकाले निष्पक्ष र अवरोधविहीन वातावरणमा प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए।
राणाले भने, “महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न हुनुपर्छ। प्रतिनिधि छनोटदेखि अन्य प्रक्रियामा कुनै हस्तक्षेप हुनुहुँदैन।”
उनका अनुसार महाधिवेशनको मुखमा नेताकार्यकर्तालाई हटाउने वा स्पष्टीकरण माग्ने एकलौटी कार्यले कार्यकर्तामाझ असन्तोष बढाएको छ। उनले पार्टी विधि–विधान विपरीत एकतर्फी निर्णय गर्दा समस्या देखिएको दाबी गरे।
त्यससँगै उनले पार्टीलाई फुटाउन नदिने दृढता व्यक्त गर्दै भने, “नेतृत्वमा मतभेद हुन सक्छ तर फुटेर अघि बढ्ने सोच हाम्रो छैन।”
अध्यक्ष पार्टीको अभिभावक भएकाले सबैलाई मिलाएर अघि बढे समस्याको समाधान सम्भव हुने तर एकलौटी निर्णय भने स्वीकार्य नहुने चेतावनी पनि राणाले दिए। उनले महाधिवेशनको मिति अब ढिलाइ नगरी तोक्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया