काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा नेपाल सरकारले गम्भीर निगरानी राख्नुपर्ने बताएका छन्।
आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव गुरुङले एमसीसी परियोजना कार्यान्वयनमा अहिलेसम्म जग्गा अधिग्रहणजस्ता पक्षमा कुनै सैन्य योजना प्रत्यक्ष रूपमा देखिएको छैन भने पनि भविष्यमा यस्तो पुष्टि भए सरकार तत्पर भएर खारेज गर्न तयार रहनुपर्नेमा जोड दिएका हुन्।
उनले विकास र आर्थिक सहयोगको दृष्टिले हेर्दा एमसीसी परियोजना सकारात्मक रहेको टिप्पणी गर्दै भने, “नेपाल सरकारको तर्फबाट एमसीसी सैन्य रणनीतिसँग जोडिएको छ कि छैन भन्ने कुरामा निरन्तर निगरानी आवश्यक छ। अहिलेसम्म प्रत्यक्ष प्रमाण देखिएको छैन, तर भविष्यमा पुष्टि भए तत्काल खारेज गर्न तत्पर रहनुपर्छ।”
गुरुङले आर्थिक सहयोगको प्रयोगले नेपालको कृषि, औद्योगिक क्षेत्र र राष्ट्रिय पूँजी निर्माणमा योगदान पुग्छ कि पुग्दैन भन्ने आधारमा मात्रै निर्णय लिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “राष्ट्रिय पूँजी निर्माणलाई कमजोर बनाउने कुनै पनि आर्थिक सहायता स्वीकार गर्न हुँदैन। परियोजना विकासको दृष्टिले लाभदायक भए मात्र यसलाई अघि बढाउन सकिन्छ।”
यसरी महासचिव गुरुङले एमसीसीसँग सम्बन्धित सम्भावित जोखिम र अवसर दुवै पक्षमा सावधानी अपनाउन नेपाल सरकारले आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन्।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया