काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्ण ध्यान दिन मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।
आइतबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति र आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले आवश्यक परे प्राविधिक जनशक्ति थपेर योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उनले भने, “भौतिक र वित्तीय प्रगतिमा असन्तुलन हुँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरु मै छोड्न सक्नुपर्छ।”
मन्त्री पाण्डेले सेवाग्राहीका फाइल अल्झन नदिने, सक्रिय भएर काम गर्ने र प्रभावकारी रूपमा काम नगर्ने कर्मचारीलाई अन्यत्र पठाउने चेतावनी समेत दिए।
समीक्षामा उनले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको स्वरूप भिन्न भएकाले मर्ज सम्भव नरहेको स्पष्ट पारे।
बैठकमा मन्त्रालय तथा मातहत निकायहरूको बजेट–खर्च स्थिति, वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम कार्यान्वयन अवस्था र उपलब्धीबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया