काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने मुख्य आधार उत्पादन संघर्ष हुने बताएका छन्।
आइतबार पेरिसडाँडामा पार्टीको आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो। उत्पादन संघर्षमा पार्टी मात्र केन्द्रित नभई जनसमुदायको सक्रिय सहभागिता आवश्यक छ।”
उनीनका अनुसार पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्ने रणनीतिक आधार उत्पादन नै भएकाले अब यसलाई प्राथमिकतामा राखिएको हो। उनले पार्टीका केही नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फस्दा जनतामा पार्टी प्रतिको विश्वास कमजोर भएको भन्दै तत्काल सुधारको आवश्यकता औंल्याए।
“शान्ति प्रक्रियापछि कतिपय नेता बिचौलिया र दलाल प्रवृत्तिमा फसेका कारण पार्टी कमजोर बनेको छ। हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन,” उनले भने।
अध्यक्ष प्रचण्डले पार्टी अब प्रत्यक्ष जनसंग जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकता दिन अभियान सञ्चालन गर्ने बताए। उनले कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय स्रोतमा आधारित आत्मनिर्भर अर्थतन्त्रलाई समाजवादको भ्रूणको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाको विरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिको लडाइँ लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, “माओवादी केन्द्र र दलाल, नोकरशाही, बिचौलियासँग सहअस्तित्व सम्भव छैन। यस्तो प्रवृत्ति लामो समय पार्टीमा टिक्न सक्दैन। माओवादी केन्द्रले मात्र नेपालको रूपान्तरणकारी समाजवाद निर्माण गर्न सक्छ।”
बैठकमा पार्टी उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले विभाग र संयन्त्रको अवधारणा प्रस्तुत गरेका थिए भने केन्द्रीय सदस्य शरदसिंह भण्डारीले विभागको कार्यविधि प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया