काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार राजधानीमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सापकोटाले अहिलेको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको उल्लेख गर्दै यसले असमानता र अविश्वास बढाउने चेतावनी दिए।
“हाम्रो स्पष्ट धारणा प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने हो,” उनले भने, “यसलाई सबै जातजाति, भाषा, वर्ग, क्षेत्र, लिङ्गीय पक्षसमेत समेटेर पूर्ण समानुपातिक बनाउनुपर्छ। अहिले त वित्तीय प्रभावसमेत चुनावमा बलियो भएर आएको छ।”
सापकोटाले वर्तमान निर्वाचन प्रणालीको खर्चिलो स्वरूपलाई औंल्याउँदै वडा अध्यक्षको उम्मेदवार बन्न मात्रै डेढ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताए। यस्तो प्रणाली जारी रहे व्यवसायी र उद्योगीहरू मात्रै उम्मेदवार बन्ने परिस्थिती आउने उनको भनाइ थियो।
उनले थपे, “खर्च नियन्त्रण नगरेसम्म भोलि चुनाव धनी र शक्तिशालीहरूको मात्र खेल हुने खतरा छ। त्यसैले हामीले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्छ।”
साथै उनले स्थिरता कायम गर्न सबै दल सचेत बन्नुपर्नेमा जोड दिंदै भने, “यदि अहिले गठबन्धन २०८४ सम्म जान्छ भन्ने भनिन्छ भने जाओस्, तर यो प्रणालीमै अविश्वास बढ्दै जान्छ। त्यसैले संविधान संशोधन गरेर अस्थिरता अन्त्य गर्ने खालको प्रणालीतर्फ अघि बढ्नुपर्छ।”
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया