काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्व पुँजीपतिको व्यापारिक प्रवृत्तिले विकृत बन्दै गएको आरोप लगाएकी छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘तीज, जनसंस्कृति र प्रगतिशीलता’ विषयक अन्तरक्रिया कार्यक्रममा भुसालले नाफा कमाउने उद्देश्यले बजारमा लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन गर्ने र मौलिक संस्कृति मेटाउने प्रवृत्ति बढिरहेको बताइन्।

advertisement

उनले यस्तो प्रवृत्ति रोक्न आवश्यक रहेको उल्लेख गर्दै तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारबारे सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइन्।

भुसालले अझै पनि समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच कायम रहेको बताउँदै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा पनि बुझ्नुपर्ने धारणा राखिन्।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्यमान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने बताए। छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजलाई सामाजिक मूल्य–मान्यता आत्मसात् गर्दै मनाउनुपर्ने र विभाग आगामी दिनमा पनि महिला उत्थानका लागि सक्रिय रहने प्रतिवद्धता व्यक्त गरिन्।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com