काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले चितवनबासीलाई अभिभावकविहीन भएको अनुभूति नगर्न आग्रह गरेकी छन्।
रास्वपाको चितवन जिल्ला कमिटीले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै उनले राज्यले प्रतिशोधका आधारमा चितवनलाई अभिभावकविहीन बनाउन खोजेको आरोप लगाइन्।
गौतमले भनिन्, “हामी सांसदविहीन भयौं, अभिभावकविहीन भयौं भन्ने आवाज उठेको छ। तर, सत्य यो होइन। हामी अभिभावकविहीन भएका होइनौं, राज्यको प्रतिशोधी मानसिकताको सिकार भएका हौं।”
उनले रास्वपा सभापति रवि लामिछानेको विचार चितवनका जनताको मनमा गहिरो रूपमा रोपिइसकेको उल्लेख गर्दै, त्यो भिजनलाई पुरा गर्न सबै चितवनबासीले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिइन्। “आज हरेकको मनमा रवि लामिछाने जिउँदै हुनुहुन्छ। उहाँले देख्नुभएको सपना पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्छ,” उनले भनिन्।
गौतमले रास्वपा हाल कठिन संघर्षको चरणमा रहेको भन्दै आगामी चुनावमा चितवनबासीले मात्र होइन, सबै जिल्लामा पनि लामिछानेकै भिजनसहित अघि बढ्नुपर्ने परिस्थितिको संकेत गरिन्।
“संसद्मा अहिले तपाईंहरूको आवाज छैन, यस अर्थमा तपाईंहरूले अभिभावकविहीन महसुस गर्न सक्नुहुन्छ। तर, यो स्थायी अवस्था होइन। आउँदो चुनावमा तपाईंहरू सबै रवि लामिछाने बनेर आफ्ना जिल्लामा अघि बढ्नुपर्छ,” उनले जोड दिइन्।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया