काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।
भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने ठूलो सम्भावना रहेको बताए । कृषि, पर्यटन, उत्पादन र जलविद्युत्मार्फत आर्थिक–सामाजिक रूपान्तरणमा नेपाल केन्द्रित रहेको उल्लेख गर्दै उनले भियतनामको तीव्र आर्थिक प्रगतिप्रति खुशी व्यक्त गरे ।
राष्ट्रपति पौडेलले बौद्ध धर्म दुवै देशका जनताबीच सम्बन्धको सेतु बनेको र भियतनामी नागरिकका लागि लुम्बिनी दर्शन गर्वको विषय भएको बताए ।
उपराष्ट्रपति सुआनले नेपालले २०३० सम्ममा मध्यम आययुक्त देश बन्ने लक्ष्य र भियतनामले २०४५ सम्ममा उच्च आययुक्त मुलुक बन्ने आकांक्षाको सन्दर्भमा दुवै देशबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । उनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिँदै अन्तर्राष्ट्रिय शान्ति स्थापना र जलवायु परिवर्तनबारे नेपालले देखाएको प्रतिबद्धताप्रति प्रशंसा गरिन् ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार












प्रतिक्रिया