काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समिति सभापति पदका लागि निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेका छन् ।
गत साउन २८ गतेदेखि समिति सभापति पद खाली छ । नियम अनुसार पद रिक्त भएको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान भए पनि अझै तालिका सार्वजनिक भएको छैन । सभामुखको सचिवालयका अनुसार भने सोमबार नै निर्वाचन तालिका जारी गरिनेछ ।
प्रतिनिधिसभा नियमावलीको नियम १७६ अनुसार निर्वाचन हुनु कम्तीमा ४८ घण्टा अगावै तालिका प्रकाशित गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार आइतबार सूचना आइसक्नुपर्ने भए पनि नआएको कारण निर्वाचन प्रक्रियामा ढिलाइ भएको हो ।
आइतबार दिनभर सभामुख घिमिरेले दलहरूसँग परामर्श गरेका थिए । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग दुई पटक र सांसद दिलेन्द्रप्रसाद बडूसँग पनि छलफल भए पनि आन्तरिक निर्णय नटुंगिएकाले तालिका रोकिएको बताइएको छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार, कांग्रेसले पदाधिकारी बैठकमार्फत उम्मेदवारको टुंगो लगाउने भएकाले आइतबार सूचना जारी हुन सकेन ।
उनले सभामुखले निर्वाचन सूचना प्रकाशन गर्न बाध्यकारी परिस्थिति स्मरण गराएको र यसअघि जस्तै ढिलाइका कारण समितिको बैठक बस्न नसक्ने गलत अभ्यास दोहोरिन नदिने अडान लिएको जानकारी दिए ।
समितिमा हाल चार वटा महत्त्वपूर्ण विधेयक अड्किएका छन्—नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक । साथै ७२ भन्दा बढी उजुरी पनि समितिमा विचाराधीन छन् ।
राज्य व्यवस्था समितिको नेतृत्वविहीनताका कारण दुई महिनादेखि बैठक बस्न नसक्दा विधेयक र उजुरीहरूको प्रक्रियामा अवरोध आएको छ ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया