काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बोलाइएको बैठक अन्तिम समयमा रोकिएको हो ।
देउवाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन र रुपन्देही–३ को आगामी उपनिर्वाचनबारे छलफल गर्न बैठक आह्वान गरेका थिए । यसका लागि उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाइएको थियो ।
पार्टी स्रोतका अनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई फोनमार्फत बैठक स्थगित भएको जानकारी दिएका छन् । नयाँ मितिमा बैठक कहिले बस्ने भन्नेबारे भने कुनै जानकारी दिइएको छैन ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । कुलिङ पिरियड विवादमा मुछिएर सांसद रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । प्रावधानअनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता भएकाले सभामुख देवराज घिमिरे कांग्रेसबाट उम्मेदवारको नाम आजै आउने अपेक्षामा छन् ।
यस्तै, रुपन्देही–३ को उपनिर्वाचनबारे महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा व्रिफिङ गर्ने तयारी गरेका थिए । उनले यसअघि दुईपटक क्षेत्रीय भ्रमण गरी स्थानीय राजनीतिक अवस्था बुझिसकेका छन् । तर, उम्मेदवारको टुंगोबारे कांग्रेसमा औपचारिक छलफल सुरु भएको छैन ।
पार्टी विधानअनुसार केन्द्रले परिपत्र गरेपछि निर्वाचन क्षेत्रले अनिवार्य रूपमा एक महिला सहित तीन जनाको नाम सिफारिस गर्नुपर्छ । कात्तिक १७ मा हुने उपनिर्वाचन नजिकिँदै गर्दा पनि कांग्रेसले हालसम्म तल्लो तहलाई परिपत्र जारी गरेको छैन ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया