काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवाद केवल शब्दमा सीमित नहुने बताएका छन्। सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले वर्तमान परिस्थितिमा पार्टी र आन्दोलनलाई लक्ष्यसम्म पुर्याउन रणनीतिक सोच आवश्यक रहेको बताए।
नेपालले भने, “वैज्ञानिक समाजवादका कुरा केवल शब्दमा मात्रै हुँदैन, धेरै बखानहरू सुन्यौ। यसलाई व्यवहारमा उतार्न सर्वहारा वर्गीय चरित्र र हाम्रो पहिलो राजनीतिक प्रस्तावका विषयको गहिरो अध्ययन आवश्यक छ।”
उनले कम्युनिस्ट आन्दोलनमा एकीकृत समाजवादी पार्टीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै, पार्टीलाई सशक्त नबनाएसम्म उक्त भूमिका निर्वाह गर्न सकिने नभएको बताए।
“कमजोर, निमुखा वा निरीहलाई कसैले टेर हान्दैन। विचारको समस्या छैन,” उनले भने, “पार्टी निर्माण गर्न आँट नगरेको भए विद्रोही चेत भएका मानिस देखिँदैनथे।”
अध्यक्ष नेपालले पार्टीमा अनुशासनहीन गतिविधि गर्नेहरुलाई कुनै हालतमा छुट नदिने चेतावनी पनि दिए। “जे गर्नुपर्छ भित्रै राख्ने हो। अनुशासनहीन काम गर्नेले छुट पाउँदैनन्। पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन,” उनले भने।
साथै, पार्टी प्रचार विभाग, अनुशासन आयोग, सङ्गठन विभाग र सबै नेता–कार्यकर्तालाई चेतावनी दिँदै उनले भने, “पार्टीमाथि आँच पुर्याउने वा नेतृत्वलाई बदख्वाइँ गर्ने काम गर्नेलाई कहिल्यै छुट दिइँदैन। पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई सहन सकिँदैन।”
नेपालले आफ्ना सबै पार्टीहरू सङ्कटग्रस्त रहेको स्मरण गर्दै, आफ्नो पार्टी सानो देखाउन खोज्ने मानसिकता नपल्याउने आग्रह गरे। उनले थपे, “नकारात्मक दृष्टिकोण र हिनभावबाट ग्रसित नहुनुस्, त्यस्तोले केही लाभ दिँदैन। कुनै विषय भए पार्टीभित्र बसेर खुला छलफल गर्न सकिन्छ।”
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया