काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी नेताहरूले लिएका जिम्मेवारी पूर्णरूपमा निभाउनुपर्ने बताएका छन्। उनले भने, जिम्मेवारी पूरा गर्न सके मात्र पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिन्छ।
सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले भने, कुनै पनि नेताले जिम्मेवारी लिएको भए त्यसलाई पूरा गर्नुपर्छ। जिम्मेवारी पूरा गरिएको छ कि छैन? काम अनुगमन भएको छ कि छैन? यसको निरन्तर समीक्षा हुनुपर्छ। प्रतिवेदन नबुझाउनेको विरुद्ध आवश्यक कारबाही अघि बढाउनुपर्छ। यी सबै कार्य भएमा मात्र पार्टीलाई सशक्त र गतिशील बनाएर अघि बढाउन सकिन्छ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन हाल गम्भीर संकट र चुनौतीको अवस्थामा रहेको बताए। उनले हालको राजनीतिक परिस्थिति कम्युनिष्ट मात्र नभई सम्पूर्ण राजनीतिक दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे।
उहाँले सबै पार्टी नेताहरूले सार्वजनिक कार्यक्रममार्फत आम नागरिक र कार्यकर्तामा सकारात्मक सन्देश दिनुपर्ने जोड पनि दिए। अध्यक्ष नेपालले भने, चुनौती र संकट आए पनि हामी डराउनु हुँदैन। संकट कहिले थिएन र चुनौती कहिले थिएन र? चुनौती र संकट पार गर्दै हामी अघि बढिरहेका छौं। त्यसैले आँट र दृढताका साथ अगाडि बढ्नुपर्छ।
पार्टीका आन्तरिक समस्याहरूलाई पार्टी कमिटीमा उठाएर यथार्थपरक समाधानतर्फ अघि बढ्नुपर्नेमा पनि अध्यक्ष नेपालको जोड थियो।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया