काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको र त्यसले संगठन कमजोर भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै गौतमले पार्टीका शीर्ष नेताहरू उपत्यकामा मात्रै रहने प्रवृत्तिले तलका तह कमजोर भएको टिप्पणी गरे।

advertisement

उहाँले भने, ‘पार्टीका सबै नेताहरू काठमाडौंमा छन्। त्यसैले तल्लो तहका नेताहरूको सक्रियता कमजोर भएको छ। प्रत्येक सदस्यले निश्चित जिम्मेवारी लिनुपर्छ र आफ्नो कार्यक्षेत्र निर्धारण गर्नु आवश्यक छ। कम्युनिष्ट पार्टीको सिद्धान्तले पनि यही माग गर्छ।’

गौतमले पार्टीका सदस्यलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिँदै, जिम्मेवारी बिना बस्ने नेताहरूलाई ‘नक्कली कम्युनिष्ट’ को संज्ञा दिनुभयो। ‘सदस्यले मासिक शुल्क तिर्नुपर्छ, कार्यक्षेत्रमा सक्रिय हुनुपर्छ, अरूसँगको जिम्मेवारी नजुध्ने तर आफ्नो क्षेत्रमा काम गर्नुपर्छ। यदि यसो नभए उनीहरू नक्कली कम्युनिष्ट हुन्,’ उहाँले स्पष्ट पार्नुभयो।

उहाँले पार्टीका सदस्यले समाजवादको सिद्धान्त बुझ्ने, आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने औंल्याए। ‘हामीले गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवादको लक्ष्य पहिचान गर्ने र अहिलेको परिस्थितिमा के गर्न जरुरी छ भन्ने दिशामा काम गर्नु हो। जनतामा पुगेर प्रेरणा दिनु प्रत्येक नेताको कर्तव्य हो। तर वर्तमानमा ठूला नेताहरू काठमाडौंमै सिमित छन् र तलका तहमा सक्रियता कम छ,’ गौतमले थपे।

यसरी वरिष्ठ नेता गौतमले पार्टीको नेतृत्व र संगठनलाई बलियो बनाउन सदस्यहरूको सक्रियता र जिम्मेवारीपूर्ण भूमिकाको आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com