श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।
डेली मिररका अनुसार उहाँलाई अगस्ट २६ (मङ्गलबार) मा कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर अस्पताल अधिकारीहरूले उहाँको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् ।
कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच) का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ । अघिल्लो दिन उनि डिहाइड्रेटेड भएको रिपोर्ट भएको थियो, जसले मुटुको दर बढाएको थियो । चिकित्सा परीक्षणमा टाउको दुख्ने लक्षणसँगै उच्च मिर्गौला मापदण्ड पनि पाइएको थियो ।
अधिकारीले भने, “हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।”
सावधानीका लागि चिकित्सकहरूले उहाँलाई इन्टेन्सिभ केयर युनिट (आइसियु) मा स्थानान्तरण गर्ने निर्णय गरेका छन् ।
कोलम्बो फोर्ट मजिस्ट्रेट निलुपुली लङ्कापुराले उनलाई अगस्ट २६ सम्म हिरासतमा राख्ने आदेश दिएका थिए। सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।
न्युजवायर लङ्काका अनुसार, राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उहाँमाथि लन्डनको निजी भ्रमणको खर्च सरकारी कोषबाट भुक्तानी गरेको आरोप छ । उक्त निजी भ्रमणका क्रममा उनले लन्डनमा विश्वविद्यालयको स्नातक समारोहमा भाग लिएका थिए । अनुसन्धानकर्ताहरूले यो भ्रमण आधिकारिक नभए पनि सरकारी खर्चमा भएको दाबी गरेका छन् ।
छ पटक प्रधानमन्त्री बन्नुभएका रनिल विक्रमसिङ्घेले सन् २०२२ जुलाईमा गोटाबाया राजापाक्षलाई विरोध प्रदर्शनले हटाएपछि श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए ।
उनी सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय जनशक्तिका नेता अनुरा कुमारा दिसानायकेसँग राष्ट्रपति चुनावमा पराजित भएका थिए ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया