ललितपुर ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसको सङ्घीय मामिला समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन र सङ्घीयताको सबलीकरण, सङ्घ प्रदेश स्थानीय सरकारको समन्वय, प्रशासन र सुरक्षा निकायको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सङ्घीयतालाई जनभावना अनुरुप प्रभावकारी बनाउनुपर्ने बताए ।

advertisement

“जति अप्ठ्यारो भए पनि संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले जिम्मेवारी लिनुपर्छ, उत्तेजना बढाउनेले जे बोले पनि हुन्छ, तर हामीमा जिम्मेवारी छ, संविधान संशोधन गर्ने कुरा पनि समयअनुसार परिमार्जन गर्दै जानुपर्छ,” उनले भने ।

उनले जनआन्दोलनको समयमा नयाँ राजनीतिक प्रणालीको स्थापना गर्ने र संविधान बदल्ने राजनीतिक दलहरुको प्रतिबद्धता रहेका स्मरण गरे । “सङ्घीयता नहुँदा र अहिलेको खर्चमा त्यति धेरै अन्तर छैन, प्रदेशले कुनै नयाँ संरचना खडा गरेको छैन, यसका लागि प्रमाणमा आधारित छलफल गर्नुपर्छ, प्रणाली महँगोभन्दा पनि हामीले पो महँगो हुने बनाएका छौँ कि”, उनले भने।

सर्वोच्च अदालत बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, धर्म निरपेक्षता र मौलिक अधिकार वर्तमान संविधानको मुख्य अन्तरवस्तु भएकाले संशोधनको विषय उठ्दा यी विषयवस्तुलाई झनै सबल बनाउनुपर्ने बताए ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनालीले सङ्घीयतामा स्थानीय सरकार, प्रदेश र सङ्घको प्रशासनिक संरचनाको व्यवस्थापन, जनताको सेवामा स्थानीय सरकारको भूमिकाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियोे ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com