काठमाडौँ । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि आज बिहान शीर्ष नेताहरूको बैठक बोलाएको छ। पार्टीका सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएको बैठक केहीबेरमा सुरु हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक तथा प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी हुनेछन्।

advertisement

संघीय संसद् सचिवालयले सभापति चयनका लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका तय गरेको छ। त्यसअघि नै उम्मेदवार टुंग्याउन बैठक आह्वान गरिएको कांग्रेस उपसभापति खड्काले बताए। उनका अनुसार आजै उम्मेदवार निश्चित हुने अपेक्षा गरिएको छ।

सोमबार बिहान १० बजे र पछि दिउँसो २ बजे बसेको बैठकमा भने उम्मेदवार टुंगो लगाउन कांग्रेस असफल भएको थियो।

सभापतिका लागि सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको नाम चर्चामा छ। २७ सदस्यीय समितिमा कांग्रेसका नौ जना सदस्य छन्।

यसअघि समितिको सभापति कांग्रेस सांसद रामहरि खतिवडा थिए। तर, कुलिङ पिरियड सम्बन्धी विवादपछि उनले गत साउन २८ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com