काठमाडौँ । नेकपा (एमाले) ले भदौ १३ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक सार्ने तयारी गरेको छ। अहिलेसम्म बैठक स्थगित भएको औपचारिक सूचना केन्द्रीय सदस्यहरूलाई पठाइएको छैन।
एमालेले दोस्रो विधान महाधिवेशनका राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गर्न भदौ १३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको थियो। तर केन्द्रीय सदस्यहरूले महाधिवेशनको अघिल्लो दिन बैठक राख्दा सहज हुने सुझाव दिएका कारण बैठक सार्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।
केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठक भदौ १९ मा सारेर दस्तावेज पारित गर्ने योजना बनाइएको छ। यसका साथै विधान संशोधन प्रस्तावमाथि सुझाव पठाउने समय मंगलबार बेलुकासम्म तोकिएको भए पनि बुधबार र बिहीबार ती सुझावलाई दस्तावेजीकरण गर्न सम्भव नहुने भएकाले बैठक सार्न उपयुक्त ठानिएको हो।
भदौ १४ गते एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ। दोस्रो विधान महाधिवेशन भने भदौ २०–२२ गते ललितपुरको सनराइज सभा हलमा हुँदैछ।
तर भण्डारी पक्षले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत राख्ने तयारी गरेपछि बैठक सार्ने निर्णय भएको बताएको छ। पोखरेलले आगामी १०औँ केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नु स्वाभाविक भएको र फरक मत दर्ज हुने सम्भावना रहेको बताएका छन्।
एमाले नेता कृष्ण दाहालका अनुसार, नवौं बैठक हुलमुलमा सकिएपछि अबको बैठकमा पोखरेल फरक मत राख्ने योजना बनाएको जानकारी प्राप्त भएको छ। यसका आधारमा अध्यक्ष ओली पक्षले बैठक सार्ने तयारी गरेको भण्डारी पक्षले जनाएको छ।
गत साउनमा बसेको नवौं केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाएको थियो। तर उनी राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया