काठमाडौँ । सरकारी स्वामित्वको गोरखापत्र दैनिकमा तीजको व्रतबारे प्रकाशित लेखप्रति आपत्ति जनाउँदै पत्रिका जलाउने प्रयास गर्ने क्रममा राजसंस्था समर्थक अभियन्ता सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) मंगलबार पक्राउ परेका छन्।
सिलवाललाई दिउँसो माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। गोरखापत्रमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा प्रकाशित लेखले हिन्दू सनातन धर्ममाथि प्रहार गरेको भन्दै उनी केही युवासहित प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनका क्रममा पत्रिका च्यात्ने र जलाउने प्रयास गरेलगत्तै प्रहरीले हस्तक्षेप गरी कार्य रोकाएको थियो। पक्राउ परेका सिलवाललाई अहिले सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको छ।
धादिङका स्थायी निवासी सिलवाल यसअघि पनि विवादित गतिविधिमा संलग्न रहँदै आएका छन्। गत चैत १५ गते तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका उनी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
यस पटकको प्रदर्शनका लागि उनले सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए। फेसबुकमार्फत उनले “गोरखापत्र अफिस सिंहदरबारभित्र भएकाले माइतीघरमा भेला भएर पत्रिका जलाउने” र सो लेख लेखकमाथि कडा कारबाही गर्न माग गर्ने घोषणा गरेका थिए।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया