काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका नेता–कार्यकर्तालाई गुटबन्दी त्यागी पार्टी एकता र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन्।

बुधबार भर्चुअल माध्यमबाट सम्पन्न कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीप्रति जनविश्वास पुनः बढिरहेको बताउँदै त्यसलाई कमजोर पार्ने उद्देश्यले पार्टीभित्र षड्यन्त्र गर्ने प्रयास भइरहेको आरोप लगाए।

advertisement

उनले भने, “माओवादी केन्द्रको लोकप्रियता बढ्दै गएको देखेर प्रतिक्रियावादी र दलाल शक्तिहरू आतंकित बनेका छन्। त्यसैले पार्टीभित्र द्वन्द्व र अविश्वास फैलाउने चेष्टा भइरहेको छ।”

प्रचण्डले गुटबन्दी, अराजकता र अनुशासनहीनता अन्त्य गरी पार्टीलाई अझ एकताबद्ध र सबल बनाउन स्थायी समितिले स्पष्ट प्रतिबद्धता जनाइसकेको स्मरण गराउँदै त्यसैअनुसार प्रदेश, जिल्ला र स्थानीय तहमा कार्य अगाडि बढाउन कार्यकर्तालाई आग्रह गरे।

उनका अनुसार पछिल्ला विभिन्न निर्वाचनमा नेपाली कांग्रेस र एमाले मिलेर पनि माओवादी केन्द्रका निकट उम्मेदवारलाई हराउन नसकेको उदाहरणले जनस्तरमा विश्वास पुनः स्थापित भइरहेको प्रमाणित भएको छ।

स्थानीय तह, स्ववियु, पत्रकार महासंघदेखि हालै सम्पन्न नेपाल पर्वतारोहण संघसम्मका निर्वाचनमा माओवादी समर्थित उम्मेदवारको विजयलाई उनले जनसमर्थन बढ्दो रहेको संकेतको रूपमा व्याख्या गरे। शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले विशेषगरी शिक्षक समुदायमा सकारात्मक प्रभाव पारेको दाबी गर्दै उनले लाखौं शिक्षक पार्टीप्रति आस्थावान बनेको बताए।

वाईसीएल, विद्यार्थी संगठन तथा अन्य जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्ने अभियान सफल बन्दै गएको बताउँदै उनले संगठन विस्तारलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए। प्रचण्डले भने, “अब घर–घरमा पुग्ने, टोल–टोलमा संगठन निर्माण गर्ने कामलाई गतिशील बनाउनुपर्छ।”

उनले कर्णालीका नेता–कार्यकर्तालाई पनि पार्टी एकता, संगठन विस्तार र जनविश्वास थप बलियो बनाउन अग्रसर रहन निर्देशन दिए।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com