काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दो क्रममा रहेको दाबी गरेका छन्।

कर्णाली प्रदेशको पूर्ण बैठकलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पछिल्ला विभिन्न निर्वाचनमा कांग्रेस–एमाले गठबन्धन हुँदा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू विजयी भएको तथ्यलाई जनविश्वासको संकेतका रूपमा व्याख्या गरे।

advertisement

स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी निकट उम्मेदवारले प्राप्त गरेको सफलताले पार्टीप्रतिको भरोसा बढेको उनले बताए। “कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ,” प्रचण्डले भने।

उनले माओवादी केन्द्रको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलाल शक्तिहरू आतंकित भएको दाबी गर्दै पार्टीभित्र गुटबन्दी र अनुशासनहीनता अन्त्य गर्ने संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिए।

शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रको अडानका कारण विशेष गरी शिक्षक समुदायमा समर्थन बढेको उनले बताए। “कांग्रेस र एमालेको गलत सोचविरुद्ध लिएको अडानका कारण लाखौँ शिक्षकले समर्थन गरेका छन्,” उनले दाबी गरे।

प्रचण्डले वाईसीएल र विद्यार्थी संगठनलाई श्रम तथा उत्पादनसँग जोड्ने प्रयास सफल भइरहेको उल्लेख गर्दै घर–घर र टोल–टोलमा संगठन विस्तारलाई तीव्र बनाउन निर्देशन दिए।

बैठकमा उनले कर्णाली प्रदेशका नेताकार्यकर्तालाई संगठन विस्तार र पार्टी एकतामा सक्रिय भई राष्ट्रिय राजनीतिको परिवर्तनमा भूमिका खेल्न आह्वान गरे।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com